भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

काठमाडौं । चीनले नेपालको पुनर्निर्माण लगायतका सबै क्षेत्रमा सहयोग गर्न तयार रहेको जानकारी दिएको छ । हालै आएका शक्तिशाली भूकम्पले पुर्याएको क्षतिको अवस्था बुझ्न नेपाल भ्रमणमा आएका चिनियाँ परराष्ट्र सहायक मन्त्री लिउ जेनचाओले प्रधानमन्त्री सुशील कोइरालासँगको भेटमा सो जानकारी गराएका कोइरालाको निजी सचिवालयले जानकारी दिएको छ ।
सचिवालयका अनुसार प्रधानमन्त्रीसँगको भेटमा मन्त्री जेनचाओले भूकम्पले ध्वस्त भएका भौतिक संरचनासहित कृषि लगायतका क्षेत्रमा पनि सहयोग गर्न चीन तयार रहेको जानकारी दिएको हो । भेटमा राष्ट्रपति र प्रधानमन्त्रीले नेपालको आवश्यकताका बारे बुझ्न आफूलाई काठमाडौं पठाएकाले के–के सहयोग चाहिने हो सो बारेमा जानकारी गराउन चिनियाँ मन्त्री जेनचाओले प्रधानमन्त्री कोइरालासँग आग्रह गरेको सचिवालयले जानकारी दियो ।
११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुईदिने भ्रमणका लागि बिहीबार काठमाडौं आएका लगत्तै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग पनि उनले भेटेर भूकम्पले पुर्याएको क्षति र अब गर्ने पुनर्निर्माण, पीडितलाई वितरण गर्ने लगयातका विषयमा जानकारी लिएका थिए । सहायक मन्त्री जेनचाओको प्रतिनिधिमण्डलमा परराष्ट्र, वाणिज्य, राज्य प्रशासन तथा सांस्कृतिक सम्पदा, चीन भूकम्प प्रशासन तथा राष्ट्रिय जनसंख्या एवम् परिवार नियोजन आयोगका अधिकारी रहेका नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।
चिनियाँ दुतावासका अनुसार गएको वैशाख २९ गतेको भूकम्पपछि पनि चीनले घोषणा गरेको १४ करोड युआन बराबरको राहत सामाग्री काठमाडौं ल्याउनेक्रम सुरु भएको छ । त्यसैगरी चिनियाँ जनमुक्ति सेनाले प्रभावकारी एवम् सहज रुपमा उपचार सेवा उपलब्ध गराउन नेपाली सेनालाई २४ वटा घुम्ती अस्पताल उपकरणसहित प्रदान गरेको छ । ती उपकरण सञ्चालनमा नेपाली सेनालाई अभ्यस्त बनाउन १७ सदस्यीय चिनियाँ टोलीले पाँचदिनसम्म प्रशिक्षण दिइने बताइएको छ ।

भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

Post a Comment

 
Top